आफ्नोपन

३१ श्रावण २०७८, आईतवार ०९:४५ ३१ श्रावण २०७८, आईतवार ०९:४५ ३१ श्रावण २०७८, आईतवार ०९:४५ #आफ्नोपन, #नेपाली कथा, #माया
photo album

म आमालाई खाना बनाउन सघाइवरी एकछिन बिश्राम लिन आफ्नो room मा आएकी मात्र के थिएँ, मेरो drawerमा भएको फोटो album मैले आफ्नो बिस्तारमा पाएँ । 

जीयाले मेरो drawer खोतलेछिन भन्ने लाग्यो । तर धेरै समयसम्म भित्र रहेको Album लाई यति छिटो फेरी थन्काउन मनले मानेन र पल्टाएर फोटोहरु हेर्न लागेँ ।

३ -३ सेकेन्डको मेरो पल्टाइ एक पानामा गएर रोकियो । त्यो पाना अलि बाक्लो थियो जसको कारण थियो कि बाहिर देखिएको फोटोको भित्रपट्टि अर्को फोटो पनि थियो , लुकाइएको । मैले भित्रको फोटो बाहिर निकालेँ जसलाई मेरो आखाँले ठम्याउनासाथ, जसरी मैले त्यो फोटोको जतन गरेकी थिएँ, त्यसरी नै जतन गरेर राखेको मेरो मुस्कान तुरुन्त ओंठबाट बाहिर निस्कियो । 

त्यो तस्बिरमा थिए एक पुरुष । थिए त ऊ सामान्य नै तर मेरो लागि अलिक बिशेष । उनको त्यो मोहनी नै लगाउने खालको आँखा, नशालु छड्के हेराइ, सुहाउने hairstyle, चौडा निधार, कुनै फिल्म को हिरो जस्तै हल्का लामो जुँगा, त्यो भन्दा अलि छोटो दारी र जुँगा र दारी बिचमा रहेको सुमधुर मुस्कान । कुनै model भन्दा कम थिएनन् ऊ । उनको मुस्कान देख्दा मात्र नै पनि उनको हाँसो मेरो कानमा गुन्जिरहेको थियो । उनले लगाएको त्यो कालो कपडा पनि मलाई यति रंगिन लाग्न थाल्यो कि त्यो प्रकाशले मेरो दृष्टि धमिलिएछ क्यार, मैले आँखा चिम्लिन पुगेँ । जति जति घडीको सेकेन्ड सुइले टिक-टिक गर्दै थियो, त्यति नै बन्द आँखा भित्र मेरो मन बस एक शब्दमा टिकिरहेको थियो जसको चिच्याहट मेरो भावनामा ठोकिएर एक बिशाल आवाज निकालिरहेको थियो र त्यो शब्द थियो, आफ्नोपन । 

आफ्नोपन ! उनले हाम्रो सम्बन्धलाई दिएको नाम । हुन पनि हो, परिवारपछिको आफ्नोपनको आभाष दिलाउने व्यक्ति ऊ नै त थिए मेरो जीवनमा । 

ऊ मेरो जीवनमा त्यो स्थितिमा आए जब म मेरा धेरै सपनाबाट पर सरेकी थिएँ । जसरी नेपालको केहि भूभागमा एक पर सरेकी (माने महिनावारी भएकी) नारी छाउपडी गोठमा बस्ने प्रचलन अझै पनि छ, त्यसरी नै आफ्नो विशाल मनको एक कुनामा त्यस्तै गोठ बनाइ अन्धकारमा बाचिरहेको बेला उनको प्रवेश भयो । आफ्नैले पनि छि- छि दुर्-दुर् गरिरहेको बेला उनले आफ्नो हात दिदा म अलि हड्बडाएकी थिएँ सुरुमा । 

ऊ मेरो जीवन सामान्य तरिकाले चलेको बेलामा प्रवेश गरेको भए म उसँग अलि बेग्लै तरिकाले पेश आउथेँ होला; मेरो मनको घरमा आदर सत्कार गरी स्वागत गर्थें होला तर यो समय म आफै एक कुनामा थिएँ । म आफैलाई सहाराको आवश्यकता थियो जसको अनुपस्थितिमा म आफै बिलिन हुने थिएँ सधै भरिका लागि तर उनी कुनै देवता जसरी आए । त्यस्तो आवस्थामा देवताले हात शिरमा राख्न हिच्किचाउछन् जस्तो लाग्दथ्यो मलाई तर म गलत रहेछु । आखिर देवताले किन विभेद गर्दथे र ? यस्तो अन्धविश्वास (यानी महिनावारी भएको बेला नछुने ) फैलाउने काम मानव जातिले मात्र गर्न सक्छन् ।

उनले मेरो जीवनमा यस्तो प्रकाश लिएर आए कि म आफैलाई बल्ल चिन्न थालेँ र फेरी ठम्याउन थालेँ मेरा सपनाहरुलाई जसलाई पूरा गर्न प्रयासरत छु, आजसम्म । उनको परिपक्वताले मलाई मन्त्रमुग्ध बनाउने गर्दथ्यो । कति पटक त म ऊ जस्तै हुन पाए जीवनमा आमुल परिवर्तन आउने समेत कल्पना गरेर बस्ने गर्दथेँ ।

मलाई हरेश खाएको बेला सम्झाउने ऊ एक अभिभावकको, मुड अफ भएको बेला हसाउने ऊ एक साथीको, मेरो हरेक बेबकुफ गफ पनि ध्यान दिएर सुन्ने र हरेक सुख- दु:खका कुरा share गर्ने ऊ एक जीवनसाथीको गरि हरेक भूमिकामा सुहाउदो थियो ऊ ।

तर!

तर उनलाई मैले एक प्रेमीको रुपमा लिदा समेत मेरो मन दुइ फिट माथि खुशीले बुरुक्क उफ्रिए पनि दिमागले कोरेको त्यो हदको रेखा पार गर्न दिदैन थियो । आफ्नोपन भएको त्यो नाताले उनलाई मेरो आफ्नो मान्छे मान्न किन रोक्ने गर्दथ्यो, त्यो मैले बुझ्न असमर्थ थिएँ र केहि हदसम्म छु पनि ।

“अहो कति बर्ष भएछ यो तस्बिर मात्रले चित्त बुझाउन थालेको । उनको लक्ष्य पक्कै पनि अब त साकार भयो होला है । किन नहुनु ! त्यस्तो मेहेनती मान्छे, मेहेनतको फल त मिल्नै पर्यो नि । ” मनमनै सोच्न थालेँ ।

एक पटक फोटोलाई हातले छोएँ र हरेक पल्ट जसरी छातीमा टाँस्न मात्र के लागेकी थिएँ , जीया दौडदै मेरो कोठामा आइन् र मेरो हातको तस्बिरलाई चोर औलाले देखाउदै भनिन् ,” सानिमा , सानिमा ! यो अङ्कल को नि ?

म निशब्द भएँ । जीयालाई प्रस्ट्याउने खालको नाता मैले भेट्न सकिन । पहिले-पहिले उनीले सोध्ने कैयौँ प्रश्नको जस्तो झुटो जवाफ दिन पनि असमर्थ भएँ म र तस्बिरलाई हत्तपत्त पहिले जसरी नै albumमा राख्दै उनीलाई काखमा लिदै भन्न थालेँ,”आज जीयाको favourite तरकारी पाकेको छ नि, कति माम खाने ल भन- भन ।

Leave a Reply