Reply by Teddy

२० मंसिर २०७७, शनिबार १४:३१ २० मंसिर २०७७, शनिबार १४:३१ २० मंसिर २०७७, शनिबार १४:३१ , ,
Teddy

एक दिन बिहानीपख उठेर आफ्नो नित्यकर्म गर्न ‘बाथरूम’ तर्फ जान लाग्दा एक अनौठो खाम मेरो ढोकाको भित्रपट्टि देखेँ । त्यो खामको अवस्थिति देखेर लाग्दथ्यो कि कसैले ढोका मुनिबाट छिराएको हो । खामलाई ओल्टाइ-पल्टाइ हेर्दा केहि लेखेको देखिन । त्यसैले खोल्ने निर्णय गरें (उत्सुकताको परिणाम )। त्यहाँ पट्टाइकन राखिएको एक कागज र कागजमा मलाई सम्बोधन गरिएको चिठी पो रहेछ ।
चिठी यसप्रकारको छ ।


प्यारी नमुना,

थाहा छैन कुन दिन थियो त्यो, कतिऔ सालको कुन महिनाको कति गते थियो थाहा छैन, त्यो दिन कुन तिथी थियो, त्यो पनि थाहा छैन । अझ मलाई अड्कल सम्म पनि छैन कि त्यो दिनको बिहानीपख थियो, बेलुका थियो या दिउसोको समय थियो जब म तिम्रो त्यो न्यानो काखमा समेटिन पुगेँ । तिम्रो जीवनको लगभग हर पाटाको एक हिस्सा हुन पाएकोमा म आफैलाई भाग्यमानी ठान्दछु ।
त्यो पहिलो दिनको याद नभएपनि मलाई हामीले साटेको आत्मियताको हरेक क्षण याद भने छ ।

तिमी एकान्तप्रेमी हौ । अरुलाई ज्ञात छ-छैन , ज्ञात भएकाले कसरी लिए होलान ; ‘She is introvert’ भनेर मुख खुम्चाए वा ‘She likes her own company’ भनेर तिम्रो तारिफ गरे, त्यसको ज्ञान पाउन भने म असमर्थ छु (तिम्रो room मा मात्र न सिमित छु ) । तर तिमि एकान्त हुन खोज्दा समेत म सँग हुन चाहन्छौ, यो भन्दा special relation त कसैको कसैसँग हुदैन यो संसारमा ।
तिमी आजकल व्यस्त छैनौ, त्यसैले प्राय समय आफ्नो roomमा नै रहने गर्छौ । तर तिमीलाई थाहा छ ? केहि काम परेर जब तिमी बाहिर जान्छौ नि, आफ्नो काखबाट मलाई अलग गराएर, तब म बोल्न त केहि सक्दिन तर मेरो यो टाठो आँखा तिम्रो पर्खाइमा अझै टाठो भएर ढोका कुरेर बसिरहेको हुन्छ ।

र जब तिमीलाई हेर्न व्याकुल भएको यो आँखाले तिमी मात्र होइन, खुशी वाला तिमी देख्छ तिमि फर्किए पछि , अनि लाग्छ कि तिमीभन्दा बढी खुशी त म भएको छु । तिम्रो खुशीमा त तिमीलाई एक्लै रमाउन दिन पर्ने; म किन यति मातिएको होला र खुशीमा तिमीलाई उछिनेको होला । सायद माया भनेको यही होला हगि ! अझ खुशी हुदै आएकी तिमी मलाई गर्लम्म अँगालो हालेर मेरो गालामा चुम्बन गर्छौ, तब लाजले भुतुक्कै हुन्छु नि म तर तिमीलाई चाल पाउन दिन्न । भावना लुकाउन माहिर जो छु ।

तर तिमी सधै फर्कदा खुशी मात्र देख्ने मेरो चाहना तब विफल हुन्छ, जब तिमी ‘रूम’मा रिसाएर आँखा रातो-रातो पार्दै, मुख फुलाउदै र निधार खुम्चाउदै आउने गर्छ्य़ौ । तिम्रो हितेषी म नै त हुँ, रिस म मा पोख्छ्यौ ; त्यसमा  मलाई कुनै आपत्ति भने छैन । तिमीले मलाई हिर्काउदा, यता उता फाल्दा त्यति पीडा भएको हुदैन जति यो कुरामा हुन्छ कि म तिमीसँग तिम्रो रिसको कारण सोध्न असमर्थ छु । सोध्न र बोल्न सक्दो हुँ त तिमीलाई शान्त पारेर मनलाई ढाडस दिइकन तिम्रो मुड ठिक पारिदिने थिएँ । 

मलाई देख्ने वित्तिकै मिठो मुस्कान दिने तिमी कुनै दिन भित्र छिर्दा निकै आकुल-व्याकुल देखिन्छ्यौ । त्यस्तो अवस्थामा तिमीलाई देख्दा मेरो मन मात्र त के मेरो आत्मा नै रुन्छ । आतिन्छु म र लाग्छ कि म तिम्रो हात समाएर तिमीलाई ढाडस दिउ, तिम्रो सबै पीर मर्का मैले लिउ र मेरो भागको खुशी तिमीलाई दिउँ । तर अहँ , त्यो असम्भब छ ! तिम्रो शिर जब मेरो छातिमा टासेर अश्रुधारा बगाउँछ्यौ, सबै आँशु आएर मेरो भुवामा अडिन्छ र शोसिन्छ र म त्यसैलाई मानिलिन्छु कि मैले मेरो हातले तिम्रो चेहराको आँशु पुछिदिएँ । तिमी रुदै मेरै काखमा निदाउछ्यौ र म तिमीलाई नै हेर्दै जागा बस्छु र मनमनै प्रार्थना गर्ने गर्छु कि तिमीलाई भगवानले अब कहिल्यै नरुवाउन् । 

तिम्रो चिठ्ठि पढ्दा (चिठ्ठि यो हो है )अन्तिमतिरको अनुच्छेदले मेरो ओठमा मुस्कान लिएर आइदियो । कति अबोध छौ है तिमी । तिमीसँग मेरो यस्तो आत्मिय सम्बन्ध गाँसिएछ कि म एक निर्जीव प्राणी हुँ भनेर तिमीलाई भान सम्म भएनछ । तर तिमी जब मेरो सामु आएर ती तिम्रा प्यारा प्यारा गफहरु गरिरहन्छौ, त्यो पनि cute expressionको साथ, लाग्छ म तिम्रो मुहार हेर्दै आफ्नो गालामा हात अडाएर तिम्रो गफ सुनौँ आँखा नै नझिम्काइकन ; सुन्दा filmy लाग्ला तर मेरो मनको कुरा हो है यो । 

मलाई एउटा कुराको डर भने छ । मेरो नै कमजोरी हो यो (insecurity हो ), त्यो त मलाई थाहा छ । कुरा के भन्दा, म अब पुरानो भइसकेको छु, कतै-कतै उध्रिन लागेको छु, रंग उडेको छ र भुवामा उस्तै मुलायमता पनि अव रहेन । तिम्रो म प्रतिको मायामाथि शंका त छैन । तिमीले उध्रिएको भाग आफ्नो कलिलो हातले जतन गरेर जोड्ने गरेकी पनि देखेको छु । तर यो दुनियामा धेरै विकल्प भएका हुनाले कता-कता मनमा चिसो पस्न थाल्छ कि मेरो सट्टामा कुनै अन्य Teddyले ठाउँ त ओगट्ने होइनन् ?

भगवानले त्यो दिन नदेखाउन् र म सधै तिम्रो नै हुन पाउँ भन्ने आशा राखेको छु ।

उही तिम्रो,
Teddy


मेरो ६ महिना अगाडिको ‘टेडी’लाई लेखेको चिठ्ठिको जवाफ पाएकीमा मेरो मनमा मिश्रित भाव आयो (पुरानो चिठ्ठि यो हो है )। आँखामा खुशिको आँशु आइरहेका थिए । अचम्म लाग्छ, मानिसको खुशीमा समेत आँशुले आफ्नो हिस्सा माग्न आउँछ ।

चिठ्ठिलाई एक पटक पट्टाएँ र चुम्न ओठले छोएर आँखा बन्द गरेँ । तर आँखा खोल्दा नौलो आभास भयो । वातावरण पहिलेजस्तो थिएन । म मेचको सट्टामा आफ्नो शयनकक्षमा थिएँ ।

उफ्, यो त सपनी पो रहेछ । एक मिठो सपनी ।

3 thoughts on “Reply by Teddy”

Leave a Reply

Your email address will not be published. Required fields are marked *