के म तिमीलाई माया गर्छु ?

२९ असार २०७८, मंगलवार ०७:१४ २९ असार २०७८, मंगलवार ०७:१४ २९ असार २०७८, मंगलवार ०७:१४ , ,
writing diary

के तिमीलाई थाहा छ र? थाहा भए बताइदेउ ल ! किनकि मैले आफुलाई नै धेरै पटक धेरै तरिकाले धेरै प्रसङ्गमा एउटै प्रश्न सोधेकी छु र उत्तर भेट्न असमर्थ भएकी छु कि ‘ के म तिमीलाई माया गर्छु?’

‘माया’ आफुमा नै एक ठूलो अर्थ बोकेको शब्द हो । सायद त्यही भएर होला मैले यो बुझ्न सकिरहेकी छैन कि यो माया हो कि हैन । अथवा यो पनि हुन सक्छ कि मैले यो भावना महसुस गरेतापनि नाम दिन हिच्किचाइरहेकी छु किनकि मेरो मन ले यो भन्छ कि  “यो बिशाल भावनाको एक मात्र शब्दमा ब्याख्या, सायद यो हुन सम्भब छैन” । 

तिमी मेरो जीवनमा प्रवेश भएदेखि आज सम्मको एक-एक दिनका ती चौबिश भागमा विभाजित भएका ती घण्टालाई साठी भाग लगाएर एक-एक मिनेट तिमीलाई सम्झदै बिताउछु । कि त म, आफ्नो भागको सम्पुर्ण समय तिम्रो बनाई र तिमीमा खर्चेर बस्ने केटी, एक समयको महत्व नबुझ्ने मुर्ख हुँ कि त म तिमीलाई माया गर्छु । 

तिमीसँग गफ हुदाको समय त तिमीसँग बोल्छु नै तर तिमी ‘अफलाइन’ हुदा समेत तिम्रो तस्बिरसँग बोल्ने केटी म, कि त एक प्रविधिको ज्ञात नभएकी र तिमीले सुन्दैनौ भन्ने कुरा थाहा नभएकी अबुझ हुँ कि त म तिमीलाई माया गर्छु । 


हामी बोल्ने क्रममा तिमीले हसाएको समयमा त म हाँस्छु नै, हामी दुवै नबोलि हाम्रो मन मात्र बोलेको बेला तिम्रो मनले अलि अस्पष्ट आवाजमा के भन्छ कुन्नि तर मेरो मनले सधै तिमि मेरो जीवनमा आएकोमा तिमीलाई धन्यवाद दिन्छ र म आवाज निकालेर नै खुशिले मुस्कुराउछु । यस्तो गर्दा कि त मलाई तिमि अन्तर्यामी होइनौ र मनको कुरा भन्न पर्छ भन्ने थाहा छैन कि त म तिमीलाई माया गर्छु । 

जव तिमी आफैले मान्छौ कि ‘समाज अगाडिको तिमि’ र ‘म सँगको तिमी’मा धेरै नभएपनि केहि अन्तर छ , तब त्यो कुरालाई अरुले कसरी लिन्थे होलान् त मलाई थाहा भएन तर म भने आफुलाई सबैभन्दा भाग्यमानी ठान्दछु र जुनसुकै समय पनि आँखा चिम्लेर भगवानलाई धन्यवाद दिन्छु र सोहि समय भगवानसँग तिम्रो प्रगति र खुशी पनि माग्ने गर्दछु । यसरी हरेक चोटी तिम्रो लागि नै वरदान माग्दा कि त मलाई आफ्नो लागि केहि माग्न नै आउदैन कि त म तिमीलाई माया गर्छु । 

जब म बिरामी भएको वा मलाई केहि भएको सपना वा कल्पनामा आउँछ तब ‘मलाई के होला ?’ भन्दा पनि मलाई केहि हुँदा तिमीलाई के होला भन्ने सोच्ने गर्दछु । यसो गर्दा कि त मलाई सोच्ने तरिका नै थाहा छैन कि त म तिमीलाई माया गर्छु । 

तिमीले मलाई गरेको care पनि माया, मलाई गरेको support पनि माया, मेरो बारे गरेको चिन्तापनि माया, मसँग बिताएको समय र मलाई दिएको हौसला पनि माया बुझ्ने केटी म, कि त मलाई शब्दकोषमा अन्य शब्द पनि हुन्छन भन्ने थाहा नै छैन कि त म तिमीलाई माया गरेर यसो बुझेकी हुँ । 

तिमीसँग धेरै चोटि यो भावना व्यक्त गर्न खोजे पनि गरेकी छैन । यसो गर्दा कि त मलाई तिमीलाई पाउने चाह नै छैन र बेवास्ता गरेकी हुँ कि त तिमीलाई गुमाउने डर छ र म तिमीलाई माया गर्छु । 

तिम्रो र मेरो मायालाई सधै भइरहने के कुरासँग तुलना गरौँ भन्ने सोच्दा मेरो मनले घाम सम्झियो तर त्यो बेला यो महसुस गरेन कि घाम पनि दिनको अन्त्यमा डुब्ने गर्दछ जसरि सायद डुब्न पर्नेछ यो प्रेमलाई पनि जूनको प्रवेश सँगै तर किन किन  यो मनले भन्छ कि चाहे ‘जून’ आवोस वा कुनै अर्को ग्रहको नै आगमन होस्, यो धर्तिले घाम को किरण अप्रतक्ष रुपमा भए पनि पाउने त छिन नै र म सधै तिमीलाई माया गरिरहन्छु, यसरी नै, अविरल, असिमित र निस्वार्थ । 

One thought on “के म तिमीलाई माया गर्छु ?”
  1. जब म बिरामी भएको वा मलाई केहि भएको सपना वा कल्पनामा आउँछ तब ‘मलाई के होला ?’ भन्दा पनि मलाई केहि हुँदा तिमीलाई के होला भन्ने सोच्ने गर्दछु । यसो गर्दा कि त मलाई सोच्ने तरिका नै थाहा छैन कि त म तिमीलाई माया गर्छु । ,, Great dialogue!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *