आकाश गड्याङ्ग-गुडुङ्ग गरिएको थियो । बेलुकाको समय, म खाना खाइवरी पलङ्गमा पल्टिदै शिरक ओढेर घरको जस्ता पातामा परेको एक-एक थोपा पानीको आवाज सुनिरहेकी हुन्छु । सरर चिसो हावा चलेको भान हुन्छ र मैले शिरक अलि बढि च्यापेर आँखा बन्द गर्छु ।
“सपना, अलि बिस्तारै हिड न, किन कुदेकी ? यस्तो भिरमा पनि कोहि दौडन्छ ?” भन्दै बाबा मेरो पछि सकि-नसकि भेट्टाउन छिटो- छिटो हिड्दै हुनुहुन्थ्यो ।
तर म आफ्नो जिद्धिपन नछोडी निकै जोडले भाग्दै हुन्छु । एक्कासी मेरो खुट्टा चिप्लिन्छ र बुबाले समात्न खोज्दा- खोज्दै पनि म भिरबाट तल खस्छु ।
म ‘आमा’ भन्दै चिच्याउदै ब्युझन्छु । उठ्दा सास फुलिरहेको हुन्छ र मुटु निकै बेगले धड्किरहेको हुन्छ । मलाई त्यो सपना हो भन्ने महसुस गर्न नै केहि समय लाग्छ । महसुस भएपछि लामो सास फेर्दै मनमनै भन्छु, ‘उफ्, कस्तो डरलाग्दो सपना ।” र उठेर कोठाको बत्ति बालेर घडिमा समय हेर्छु । चार बजेको रहेछ ।
मुख सुकेजस्तो भएकाले भान्छा कोठामा गएर पानी पिउछु र toilet पनि गइवरी कोठामा आइ बिस्तारामा खुट्टा पसारेर ढाडमा सिरानी आडेस लगाइ बस्छु । चिसो भएको महसुस हुन्छ र पेटसम्म शिरक तानेर ओड्दै आफ्नो ओछ्यान नियाल्छु ।
तन्ना दुइ ठाउँमा सिलाएको प्रस्ट देखिएको थियो जसको एक कुनामा म थिएँ भने अर्को कुनामा, माने शिरकको उतापट्टी, थिए, राती धकलेर पन्छाइएका मेरा केहि कपडा, दुइ वटा किताब, एउटा कपि जसभित्रको पेनको टुप्पो पनि देखिएको थियो र त्यसको आडमा थियो Horlicks किन्दा सित्तैमा पाएको ‘Horlicks’ प्रिन्ट गरिएको Cardboard ।
दिमागमा अचानक केहि आउँछ र म कपिभित्रको पेन बाहिर निकाली एक थोत्रो पाना खोजेर त्यसलाई cardboardमाथि राखि केहि लेख्न थाल्छु ।
“मेरो सपना”
यति लेखेपछि केहि बेर अडिन्छु र फेरि लेख्छु ।
” जसरि सपना देख्ने हक हर कोहिलाई हुन्छ, सबै व्यक्तिको आ- आफ्नो सपना हुन्छ । त्यसै गरि मेरो पनि एक सपना छ । म चाहे जुन सुकै क्षेत्रमा नै किन नलागु , मेरो सपना छ कि बुबाको लागि एक ठुलो घर बनाउन सकुँ ।”
‘ए ! बुबा मात्र पो लेखेछु’ भन्ने सोच्दै बुबाको पछाडी धर्सा तानेर ‘र आमा‘ थप्छु र त्यो लेखलाई निरन्तरता दिन्छु ।
“हाम्रो घरमा चाहे महंगा- महंगा सामान नहुन् , तर यति सामाग्री अवश्य हुनेछन् जसले हाम्रो आवश्यकता पूरा गर्न सकोस् ।
मैले बनाएको घरमा बुवा- आमा बस्दा मलाई निकै खुशि मिल्नेछ तर ‘मैले बनाएको घर पो हो त’ भन्ने घमण्डले कहिल्यै पनि छुनेछैन ।
म घरकी जेठी छोरी भएको नाताले पनि आमाबुवालाई कुनै पनि आर्थिक व्यवहारको र जिम्मेवारीको चिन्ताबाट मुक्त बनाउने मेरो कर्तव्य हो जसको लागि म भरपुर प्रयास गर्नेछु । जसरी मेरो तोते बोलि सम्म पनि ननिस्कदाको समयमा समेत मेरा हरेक इसारा बुझि मेरा आवश्यकता पूरा गरिदिनुभयो, त्यसरी नै म आमाबुवाको हरेक चाहना र आर्थिक अभावले पूरा गर्न नसकेका रहर पूरा गर्नेछु ।
मेरो कृषि प्रति पूरा सम्मान छ । आखिर अप्ठ्यारो समयमा यसले नै त हामीलाई पालेको छ । तर मेरो सपना छ कि हामीले कृषि गरेपनि अलि व्यवस्थित तरिकाले गर्नेछौँ किनकि अहिलेको तगारो नजिकको मलखातको गोबरले आफन्तलाई समेत हर्न बजाउने गर्दछ र त उनीहरु त्यस दृश्य देख्नासाथ पर-पर तर्कने गर्दछन्, पहिले मलखात सँग र बिस्तारै हामीसँग पनि ।
म छोरी भएकी हुनाले आफ्नो घर छाडेर त्यसलाई माइत बनाइ अर्को घरलाई आफ्नो स्वीकार्न पर्ने हुन्छ । तर मेरो सपना यो छ कि नयाँ घरमा बुवाआमाले नटेकुन्जेल मैले अर्को घरको दैलो टेक्नेछैन । ”
पेनलाई अड्याएर आँखा मिच्दै आफुले लेखेको लेख सुरुबाट पढ्न के लागेकी थिएँ, आमाबुवाको कोठाको ढोका खुलेको आवाज आउछ र सँगसँगै आउँछ आमाको बर्बराउनुभएको आवाज,”ल हेर, आज पनि बत्ति ननिभाई सुतिछ यो । एक्लै नसुत् भन्छु, मान्ने हैन ।”
हत्तपत्त लेखेको कागज पट्टाइवरी डसनामुनि सुरक्षित राख्दै उठ्ने तयारितिर लाग्छु ।
शिरक पट्टाउने बेला, भर्खर राखेको डसना मुनिको लेख सम्झदै मनमनै भन्छु, “कति मिठो कल्पना । त्यस्तो भएपनि हुन्थ्यो नि ! “