“मायाँ ”
सुन्दै लोभलाग्दो शब्द ।आमा बुवाबिचको मायाँ देखेर नै होला मैले सानैदेखि धेरैकुराको कल्पना गर्ने गर्दथेँ ।
आमाको ठाउँमा म बसेर बाबाको ठाउँमा ‘कोहि’ भएको कल्पना आउनासाथ मन कुत्कुताउथ्यो, त्यसै काउकुती लाग्दथ्यो र सोच्थेँ, “यो बिबाह भनेको अति सुन्दर बगैंचाहो जुन माया नै मायाको फूलले सजिएको हुन्छ ।“
तर आज सन्दर्भ अलग छ ।
आज मलाई “मायाँ” र “बिबाह” भन्ने शब्ददेखि नै घृणा जाग्न थालेको छ।
“आफ्नो आँखा खोल समि, ‘बि प्राक्टिकल“ आफ्नो मम् ड्याडलाई सम्झाउन सक्छौ भने सम्झाउ ,
नत्र ………… ।“ यति भनेर उसले अन्तिमपल्ट फोन काटेको थियो ।
म के सम्झाउँ मेरा बुबा आमालाई । सम्झाउन पर्ने त म पो भएकी थिएँ ।
मलाई अझै याद छ त्यो दिन ।उसले मलाई हाम्रो ‘प्रेम’को बारेमा घरमा भन्न भन्यो ।मेरो घरमा मान्नु भयो भने माग्न आउँछु भनेको थियो ।उसको घरमा मनाउन पर्दैन, मानि हाल्नु हुन्छ, भनेको थियो उसले त्यो दिन ।
गएकी थिएँ हिम्मत बटुलेर बाबाको ‘रूम ’तिर ।सपिंग गर्दा समेत आफ्नो लुगामा बाबाको सहमति नहुदा सम्म नरोज्ने मैले आज आफ्नो जीवनसाथी आफैले रोजेकी थिएँ । यो मेरोलागि ठुलो कुरा थियो ।
भर्याङ्ग झर्दा मेरो कुकुर ‘मर्फी’ले हरेक पाइलामा रोकेको थियो ।आफ्नो काम बिथोल्ने भयो भनेर त्यसलाई हप्काएकी थिएँ ।के थाहा, त्यो पनि एउटा संकेत पो थियो कि, आफ्नो कदम सोचेर चाल् भन्ने । तर मैले बुझ्न सकिन ।
बाबालाई त्यो कुरा भनिनसक्दा सम्म एक मग पानी रित्ताएकि थिएँ र बाबा मगतिर र मतिर हेर्दै, “मसँग नडराऊ, भन के हो?” भन्नुभएको थियो ।तर आज मेरो जीवन नै रित्तो भएको छ ।
जसलाई मैले मन भित्रैदेखि मायाँ गर्थें, उसले मलाई दिमाग चलाउन अर्थात प्राक्टिकल हुन आदेश दिदै छ ।
“दाइजो”
छि! मैले सोच्नै नसक्ने कुराले हामीलाई अलग गर्दै थियो ।
मेरो बाबासँग कुरा गर्दाको डर त के हो र, ऊ हात माग्न आउँदाको दिनको बेचैनीको त
के हो र ! त्यो एक शब्दले हाम्रो चार बर्षको सम्बन्धमा दरार लिएर आउँदै थियो र उसँग छुट्टिने डरले म काम्न थालिसकेकी थिएँ ।
“दाइजो”
१ शब्द, ३ अक्षर न हो; तर यसले कति असर गर्दै थियो म मा र मेरो जीवनमा ।
“मलाई हजुरको छोरी मन पर्यो । केटाकेटीको पनि राम्रै सम्बन्ध रहेछ । अब हाम्रो सम्बन्ध सुधार गर्नतर्फ लागौं न त ।” उनको बुवाको आवाज ।
पर्दापछाडी लुकेकी मैले यो सब सुन्दा मन चंगा भएको थियो र हाँसो नफुत्कियोस भनेर आफूलाई सजग तुल्याएकी थिएँ त्यो बेला ।
“हवस् त, हाम्रा गाउँका पुराना पुरोहित छन् …………”
मेरो बुवाको वाक्यलाई काट्दै उसकी आमाले उसको बुवालाई हेर्दै भनेकी थिइन्, “हेर्नुस्, उहाँ अलि चाँडो निर्णय लिइसिन्छ ।” म लगभग तर्सिएझैँ भएकी थिएँ त्यो बेला ।
उसको आमाको नै आवाज आएको थियो, “हाम्रो ठाउँमा त यस्तो हुन्छ, हजुरहरुकोमा के हुन्छ थाहा छैन । बिबाह पहिले नै छिनोफानो गरेको राम्रो नि यस्तो कुरा, होइन र ?”
उसको आमाले आशय दिएको कुरालाई स्पष्ट पार्न बाबाले सोध्नुभयो, “के हजुरहरु ‘दाइजो’को कुरा त गर्दै हुनुहुदैन ?”
उसको(केटाको) जवाफ, “ हजुर हो, त्यही कुरा गरेको ।”
यत्तिकैमा बहिनी कताबाट आएर मलाई तानेर अर्को कोठामा लिएर गएकी थिई । तान्ने बेला
पर्दा अलिकति खुलेको थियो । उसको मुहार देखेर लागेको थियो, ‘के यो बोल्ने त्यही मान्छे हो जो मलाई प्रेम गर्थ्यो ?’ मनमा आशंका उब्जेको थियो ।
मेरो संसार अन्धकार भएको थियो । त्यो दिन बहिनीले के भनेर जिस्काई, केहि याद छैन ।याद छ त त्यही दुइ शब्द, “हजुर हो ।” सब प्रेममा खाएका कसम याद आए । सब मायामा साटेका पल याद आए ।
ती सब के का लागि, पैसाका लागि ?
__________________________________________________________________________
दाइजो मुख्यतया नेपालको तराई भूभागमा र कतै पहाडी क्षत्रमा पनि चलिआएको कुरीति हो ।धेरै पहिलेदेखि चलिआएको भएपनि पहिले यसलाई मायाँको चिनो स्वरूप आफ्नो राजिखुशिमा केटीपक्षले केटापक्षलाई केहि सामान दिने चलन थियो भने आजकल यो कुरीति नै भएर प्रतिस्पर्धात्मक रूपमा हाम्रो समाजमा जरा गाडेर बसेको छ र बिबाह गर्नको लागि दाइजोको लेनदेन आपरिहार्य हुदै गइरहेको छ ।
दाइजोले कैयन अपराध समेत निम्त्याईरहेको छ हाम्रो समाजमा । कति सपना सजाएर बेहुलाको घर गएकी बेहुली कोहि जिउदै जल्नु परेको छ त कतिले सपना त के कल्पनामा समेत नचिताएको शोषण खप्नु परेको छ ।
दाइजोकै कारण पनि हो, घरमा छोरी जन्मिइ भन्दा घरमा हर्ष उल्लास भन्दा पनि कोलाहल मच्चिन्छ र सबैको दिमागमा सन्तान जन्मिएको एक दिन पनि हुन नपाउदै बिबाहमा हुने खर्चको लेखाजोखा सुरु हुन थाल्छ र त्यो लेखाजोखाको कारण हो हाम्रो समाज र त्यसले ल्याएको कुरीति ‘दाइजो प्रथा’ ।जति जति छोरी हुर्कदै जान्छे, उ प्रति उतिनै माया भएपनि छोरीमान्छेलाई बिशेषत शिक्षा तथा अन्य सुबिधाबाट बन्चित गराइन्छ ताकि त्यसबाट जोगिएको पैसा उसको बिबाहमा दाइजो दिदा काम लागोस् ।
यसरी देवी समान छोरी दाइजो को कारण जीवनको हरेक मोडमा जली-जली बच्न परेको छ ।
_________________________________________________________________________
मेरो सन्दर्भमा भने, मलाई केहि कुराबाट बन्चित गरिएको थिएन। आफ्नो छाक घटाएर मेरो भाग बढाउने बुबा आमालाई आज आफ्नी छोरीलाई दाइजोको रकम कसरी जोहो गर्ने भन्ने चिन्ता ले सताएको छ ।
उसकी आमाले भुलिछन् कि उनी पनि कुनै बेला कसैकी छोरी थिइन् र यो परिस्थितिबाट उनी पनि गुज्रिन परेको थियो । उनी त हाम्रो, वा भनौ मेरो, लागि अपरिचित थिइन्, दया सम्म देखाउन पनि हाम्रो परिचय भएको कतिनै पो भएको थियो र ? तर ऊ! जसलाई मैले मेरो सबथोक मानेकी थिएँ, उसले त कमसेकम बुझ्न सक्थ्यो ।
म यसो सोच्छु ,म भाग्यमानी रहिछु । बेलैमा मेरो आँखा खुल्यो ।म चेत पाउनकोलागि कमसेकम जलेर खरानी त हुन परेन वा अपहेलित भएर त बच्न परेन नि ।
म बाबाको ‘रूम’ तिर गएँ, फेरी , तर अहिले अलीक भिन्न निश्चयका साथ ।
आमा र बाबाबीच कुन चाही घडेरी बेचे मागेको रकम पुग्छ भन्ने निधो हुदै रहेछ , मैले परैबाट सुनें ।आफ्नी छोरीको रोजाई पूरा गर्न आफ्नो सारा मेहेनत खर्च गरेर जोरेको सम्पत्ति त्याग्न तयार हुनुहुन्छ उहाँहरु ।
हो, यो हो माया!
मलाई देखेर दुबैजना सजग हुनुभयो र ‘के भो छोरी’ को नजरले मलाई हेर्नुभयो ।
“बाबा, म यो बिहेको लागि अब तयार छैन । हो, यो सहि हो कि यो बिहेको कुरा म आफैले ल्याएकी हुँ तर मलाई थाहा थिएन कि कसैलाई मन पराउनमा ‘प्राक्टिक्यालिटी’ थिएन भनेर ।”
“इन्जिनिएरिङ्ग पढेको उसले मेरो मायाको एक-एक इन्चको हिसाब मागेको छ बाबा । म finance र account पढेकी भए पनि यो रिस्क लिन सक्दिन बाबा । हामीले account मा पढे जस्तो “High risk, high profit” यो केसमा हुदैन । यो risk लिए भने मेरो जीवन नै डुब्ने चान्स अधिक छ ।”
“उसलाई म प्रति होइन, सम्पतिप्रति मोह छ होइन ? गरोस् मोह ! पाओस अरु नै कोहि सम्पति उप्रती लुटाउन चाहनेहरु । तर म? अहँ ! उसले मलाई गुमायो अब । यस्तो कुरीतिलाई प्रोत्साहन गर्ने काम मबाट हुदैन ।”
“हामी केटी भनेका दयाका पात्र होइनौ ताकि हामीलाई बिबाह गरेबापत उनीहरुलाई पुरस्कार दिईयोस । हाम्रो पनि एक अस्तित्व छ ।”
“म केटीमात्र होइन, एक मानबपनि हुँ बाबा । एक मानब पनि हुँ।”