प्यारो दाई ,
सानो छँदा रातीमा चर्पी जाँदा तर्साउने हाउगुजीले भन्दा बढी तर्साउन थालेका छन् आजकल स्कूल पढेर फर्कंदा साँझपख सडक पेटीमा बसेर सुसेल्ने ती ओठ, पड्कने ती जिब्रो, बज्ने ती थपडी, बोलिने ती शब्दहरु र अंग-अंग नियाल्ने ती आँखाहरुले।
आँखा नजाओस भन्दा भन्दै कैयौंपटक मेरो ध्यान खिच्ने मनसायले गरिएका कृयाकलापले मेरो ध्यान खिचिहाल्छ र त्यता नजर जाँदा जब ती ओंठ, जिब्रो, हात र आँखाका मालिक पुरुषलाई देख्छु, किन किन मलाई तिनीहरु हजुर जस्तो लाग्छ; आफ्नो दाई जस्तो । तर जब मेरो त्यो गहभरिको आँशु देखेर हजुर जसरि मलाई फकाउनको सट्टा म एक हाँसोको पात्र बन्छु, तब म विश्वस्त हुन्छु कि यो मेरो दाई हुनै सक्दैन भनेर ।
जब जब म ती ताली र सुसेली सुन्छु नि, तब तब मेरो नजर जमिनमा त्यसरी नै गाडिन्छ जसरि मेरो आत्मविश्वास गाडिन्छ मेरो मनरुपी खाडलमा । मलाई ‘म’ अर्थात एक महिला हुनमा नै धिक्कार लगेर आउँछ । मलाई हिनताबोधको अनुभूति यो हदसम्म हुन्छ जसरि कुनै भिडमा कसैलाई एक्लो पारेर थुकिदै छ, लुछिदै छ र कुटिदै छ । मेरो यो मन यसरी दुख्छ कि मानौ कैयन छुरी प्रहार गरिएको छ मेरो छातिमा एकसाथ ।
तर थाहा छ दाई, यो कुरा मैले अझसम्म आमा-बुवालाई पनि भनेकी छैन । किनकि उहाँहरु त्यो समाजमा हुनुहुन्छ जहाँ कुनै केटीमान्छे अन्जानबस ढुंगामा अल्झिएर लडी भने दोष त्यो ढुंगाको अवस्थितिको हुदैन , दोष त्यो केटीको नै हुन्छ । “अलि ढंगसँग हिड्न पर्छ” अरे केटी मान्छे भएर । अनि यदी कोहि केटी मान्छेलाई केटाले कुदृस्टीले हेर्यो भने दोष कि त त्यो केटीको लवाईलाई दिईन्छ कि त लालीलाई दिईन्छ न कि त्यो केटालाई । अलि चर्को स्वोरमा बोल्दा वा हाँस्दा त गाली खाइने यो समाजमा म कसरि अरुलाई औंला ठडाएर दोष दिन सक्ने थिएँ र?
हुन त आफ्नै हजुरबुवाबाट एउटी नातिनी बलात्कृत हुँदा मौन रहने हाम्रो समाजले मेरो बिषयमा कुरा सुन्न के मान्ला र खै ! त्यहीपनि मेरो एउटा प्रश्न छ यो समाजसँग र ती पुरुषहरु सँग । मेरो यो त्रासको रुप बढ्दै गएर मेरो आत्मविश्वासमा कमि आएमा त्यसको जिम्मेवारी कसले लिने ? मेरो यो प्रश्न समाजसम्म पुर्याईदिनु न है दाई ।
परदेशको ठाउँ, आफ्नो ख्याल राख्नु है दाई ।
उही हजुरकी बुनु,
समिक्षा