बादल, म र मेरो चप्पल

१६ भाद्र २०७८, बुधबार १०:१० १६ भाद्र २०७८, बुधबार १०:१० १६ भाद्र २०७८, बुधबार १०:१० ,
cloud

म प्राय खाली समयमा घरको छतमा गएर बादल हेर्न रुचाउछु । हरेक बादलको टुक्राले मलाई नयाँ ज्ञान दिइरहेको हुन्छ । यो बिशाल आकाशमा रहिकन पनि यति शान्त र धैर्यवान रहन सकिन्छ भनेर मलाई सम्झाइरहेको हुन्छ नत्र त यदी कुनै महत्वाकांक्षि व्यक्ति त्यस बादलको ठाउँमा हुनेभए पूर्व क्षितिज देखि पश्चिम क्षितिज सम्मको सयर सक्दो चाँडो पूरा गर्ने प्रयत्नमा लाग्दथे होलान् र त्यो यात्राको आनन्द लिन असफल हुने थिए होलान् ।

अझ बादल यति माथिल्लो ओहोदामा रहेर र सबै जीवभन्दा माथि अवस्थित भएर पनि कति सरल र कति कर्मनिष्ठ हुने गर्दछ जसबाट हामीले धेरै कुरा सिक्न सक्दछौँ । न त बादललाई माथि हुनको घमण्ड छ न हामी तल भएकाले अहंकार । यदि छ त सरलता र कोमलपन जसले उसको सौन्दर्यमा झन् निखार लिएर आउने काम गर्दछ ।

आज पनि म छतमा चढेर बादलको सौन्दर्यको मजा लिइरहेकी छु । माथि फर्किएर बादलको अबलोकन गर्दा गर्दै म बादलमा नै समाहित भए झैलाग्दछ । लाग्छ कि म म नभएर त्यो बादल हुँ , अथाह आकाशमा हावाको वेगसँगै उडिरहेकी छु, कहिले दाँया त कहिले बाँया । न मलाई केहि चिन्ता छ भविष्यको न अफसोस छ भूतको । रमाएकी छु बर्तमानमा हावाको वेगसँगै खेल्दै । घरि हावाको वेग अलि बढी हुन्छ र मेरो घनत्व बढी देखिन्छ भने घरि म छरिन्छु आकाशभरि एक कपाससरि सानो सानो टुक्रामा ।

यसरी हावाको वेगसँग बग्दै गरेकी मेरो पाउमा केहि कुराले घोचेको भान हुन्छ र म फेरि यही धर्तीमा आफ्नै घरको छतमा फर्किएर आउछु । मैले लगाएको चप्पलमा सानो काँडा बिझेको रहेछ । त्यो काँडा झिकेर फाल्दा मलाई बल्ल मेरो अस्तित्वको ज्ञात हुन्छ ।

म त त्यो बादल होइन रहिछु । हुँ त म एक महत्वकांक्षी, केहि हद सम्म अहंकार र घमण्डले भरिएकी र भुत र भविष्यमा थिचिएकी मानवको एक नमुना । छतबाट तल झर्दा-झर्दै त्यो साँझको झिस्मिसेमा म आफैलाई प्रश्न गर्दैछु, के मानव भइ बादलसरी हुन अपेक्षा राख्न गलत होला त ? यदी होइन भने हरेक बन्द आँखाको प्रार्थनामा मेरो प्रार्थना यही छ कि म मानव नभइ एक बादल होउँ ।

2 thoughts on “बादल, म र मेरो चप्पल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *