बाबा

८ माघ २०७८, शनिबार ०३:४९ ८ माघ २०७८, शनिबार ०३:४९ ८ माघ २०७८, शनिबार ०३:४९ #nepalistory, #छोरी, #नेपाली कथा, #बाबा, #माया
father daughter

मानिसहरु भन्छन् माया भनेको एउटा भुमरी हो । यसमा फस्न हुदैन ; जो कोहिले पनि माया गरेर धोका दिन सक्छन् ; यदि माया गर त उमेर हेरेर गर नत्र सोँच नमिल्न सक्छ । तर यो सब भनाइ मलाई झुटो लाग्छ जब म मेरो बाबालाई देख्छु । 

मेरो सानो उमेरदेखि नै सानो-सानो इच्छा पूरा गरिदिनुभएको बाबा एक ज्योतिष जस्तै हुनुहुन्छ । मैले भन्न नपाउदै मेरो इच्छा र चाहना कति छिटो बुझेर पूरा पनि गरिदिनुहुन्छ । अझ मलाई जाडो महसुस भएको कति छिटो पत्ता लगाएर म निदाएको बेला सिरक ओढाउन तम्सनुहुन्छ । मेरो ज्योतिषि जस्तै बाबा ।

 
मेरो चाहना पुरा गर्दा गर्दै आफ्नो फाटेको मोजा भुल्ने बाबा भुलक्कड पनि हुनुहुन्छ । उहाले सानोमा मलाई काधमा बोक्दा आफ्नो थकाई भुल्नु भएको थियो ; म बिरामी हुदा आफ्नो निन्द्रा भुल्नु भएको थियो; उहाले आफैले आफैलाई भुल्नु भएको थियो जब म उहाको काखमा हुने गर्दथेँ । यो पनि भुल्नु भएको थियो कि उहाँ बाबा हुनुहुन्छ र बाबाहरुले छोरा छोरीलाई थर्काउन allowed छ, र मलाई थर्काए लगत्तै पछुतोमा माफि माग्नुभएको थियो । मेरो भुलक्कड बाबा । 

सानोमा खेल्दा खेल्दै भुइमा निदाएकी म उठ्दा खाटमा हुने गर्दथेँ । हो, मेरो बाबा एक जादुगर पनि हुनुहुन्छ जसले मेरो दुःखलाई जादु गरेर हाँसोमा परिणत मात्र गर्नुभएन, यतिसम्म पर भगाउनु भयो कि दुःखपनि अब मकहाँ आउन भन्दा अघि २० पटक सोच्ने गर्दछ किनकि मकहाँ सुरक्षा दिन बाबा जो हुनुहुन्छ । 

यति मात्र कहाँ हो र, उहाँको अपरिहार्य चाहना पूरा गर्न पर्दा खाली भएको उहाँको गोजी मेरो इच्छा उहाँलाई सुनाउन नभ्याउँदै भरिएको हुन्छ । यस्तो ठुलो जादु गर्ने मेरो जादुगर बाबा ! 

मेरो बाबा मलाई जे आवश्यक छ, त्यो बन्नुहुन्छ । शिक्षा दिने बेलामा शिक्षक, खेल्ने बेलामा साथी, भोक लागेको बेला chef तर बाबा यो जमानाले प्रेमिको दर्जामा राख्ने प्रेमि बन्न सक्नुभएन किनकि उहाले आफ्नो प्रेममा स्वार्थ कहिल्यै लुकाउनुभएन र मलाई नि-स्वार्थ प्रेम गरिरहनुभयो, त्यो पनि एक चोटी पनि ‘I love you’ नभनि । 

मेरो हरेक सानो उपलब्धिमा मभन्दा खुशि हुने र मलाई अगाडि बढ्न प्रोत्साहन गर्ने मेरो बाबा मेरो लागि सबैभन्दा प्यारो हुनुहुन्छ । म इश्वरलाई केवल २ वटा विन्ति चढाउन चाहन्छु । 

१) मलाई मेरो बाबा मेरो जीवनकालसम्म चाहिन्छ । (I need my father for the rest of my life.) 

२) उहाँलाई हरेक जन्ममा मेरो नै बाबा बनाइदेउ ।

Leave a Reply