आज पनि त्यही बाटो हिडेर घर आउदै गर्दा तिनै आइमाइहरुको जमात देखेँ । पहिले जसरी नै सबै मलाई आँखा तर्दै खासखुस गर्न लागे । गाली गरेका भए त फर्काउथेँ खासखुसको जवाफ म सँग थिएन त्यसैले वास्ता नगरी घर फर्किएँ ।

घरमा खाना खाने बेलामा बुढालाई भनेँ , “हेर न बुढा , ती पल्लो टोलका आइमाइहरु मलाई कस्तो आँखा तर्छन् सामान किनेर फर्कदा । आस्ति त ‘यो त्यही पोइला आएकी केटी होइन’ सम्म भन्न भ्याएका । कस्ता आइमाइ होलान् , आइमाइको नै व्यथा नबुझ्ने !”
“तँ तिनीहरुको वास्ता नगर् न । कसको व्यथा कसलाई बुझ्ने फुर्सद छ र यहाँ? आफ्नो कुरा मै मस्त छन् सब।”
“तिमीलाई भन्न त सजिलो छ नि । मेरो मन कति दुख्छ तिमीलाई के थाहा?” भन्दा भन्दै आँसु खसेछ ।
“तँ नरो न! त्यस्ता आइमाइलाई चुप गराएर सकिन्न हेर् । यहिँ किने हुन्छ त पल्लो पसलमा किन अर्को टोल जान्छेस् त राशन किन्न ?”
“तिम्रो तलब यति थोरै छ; महिनाको १५ दिन नै टिकाउन गाह्रो छ; पल्लो टोलमा सस्तोमा दिन्छन राशन त्यसैले गएकी मात्र । नत्र त संगत गर्न मिल्ने कोहि देख्दिन त्यता ।”
________________________________________________________________________________________
हुन पनि हो। अरुको व्यथाको कसैलाई वास्ता हुदैन । ‘यसकी छोरी पोइला गइ’ भनेर होच्याउन त सबैलाई आउँछ तर के तिनीहरुले उसको जीवनको यथार्थ बुझन प्रयास सम्म पनि गरेका हुन्छन त! अँह, हुदैनन् !
हजुरहरु नै विचार गर्नुहोस न आफ्नो घरको माया कसलाई हुदैन र ? आफ्नो घरलाई छोडेर सामान्य विवाह गरेर अर्काको घर जान त गार्हो हुने बेलामा आफ्नो स्वर्गजस्तो घरको ढोका नाघेर अर्को दैलोसम्म फड्को मार्न नै गार्हो परेको हुन्छ । आफ्नो जिन्दगीको त्यस्तो ठुलो निर्णय लिँदा घरमा कसैलाई सोध्न नपाउंदा नै उनको मन कति रोयो होला । त्यो मनलाई दह्रो बनाउँदै लगेर निर्णयसम्म पुग्न कति हिम्मत गर्नु पर्छ त्यसको अन्दाजा लगाउन नै गार्हो छ ।
यता आफ्नो घरबाट हेलाहा भइन्छ जीवनभर भन्ने थाहा छ । उता बुढाको घरमा पनि त स्वीकार गर्लान नगर्लान, त्यो पनि त केहि निश्चित छैन ।
यसरी प्रेम विवाह गरेपछि सबै जिम्मेवारी आफ्नो हुन्छ विवाह सम्बन्धि । ल मानौ न, कोहि केटीले सामान्य विवाह गरेपछि बुढाले हेलाहा गर्यो वा आफूलाई केहि दुख पर्यो भने जन्मघरमा फोन गरेरउस्तै परे गाली गर्छे वा आफ्नो व्यथा पोख्छे र जन्मघर फर्किएर आउछे र घर चलाउँदा अन्य कुनै अफ्ठ्यारो परे सहयोगको लागि आफ्नो जन्मघर नै पहिलो प्राथमिकतामा राख्छे ।
तर प्रेम विवाह गरेकीले ‘यस्तो बुढासँग किन पठायौ’ भनेर न कोस्न पाउँछे अभिभावकलाई न त केहि अफ्ठ्यारो परेजन्मघरमा गुहार माग्न नै पाउछे। उस्तै घर छ भने त सबलाई मेरी छोरी मेरोलागि मरि आजबाट भनेर घरको ढोका सधैको लागि बन्द गरिदिन्छन । के ती आमाबुवाले आफ्नो वैवाहिक जीवनमा दुःख नभोगेका हुन् त? घर सम्हाल्न सहयोग बिना सम्भब छैन भन्ने थाहा नभएको हो त? थाहा छ नि। तर अहँ सहयोग गर्दैनन् र साथ दिदैनन । किन ? थाहा छ ?
सिधा सिधा भन्न पर्दा उनीहरुलाई आफ्नी छोरी भन्दा आफ्नो मान र प्रतिष्ठा प्यारो छ ।दुनियाको डर छोरीको माया भन्दा ठुलो छ ।
विवाह पछि मैले बल्ल थाहा पाएँ आफ्ना भनेर मुटुमा राखेका पनि आफ्ना नहुँदा रहेछन । मैले त एउटा मायाको ढोंग गर्ने ढोंगीलाई मुटुमा राखेकी रहिछु । नत्र घरले स्वीकार नगरेको थाहा दिदा दिदै पनि किन वास्ता गरेनन त ?

यो सहरमा एक्ली छोरीले कसरी व्यवहार सम्हाली होलि कहिल्यै सोँचे त बुवाले ? कहिल्यै सोचिन् आमाले कि घरमा खाएको थाल पनि नमाझ्ने छोरीले एक्लै घरको काम कसरी सिकी ? कहिल्यै सोच्यो त त्यो दाइले, जससंग नजिस्कीइ एक मिनेट पनि बस्न नसक्ने बहिनी उसले बचन लगाउँदा कति मन दुखाई, कति छाक छोडी भनेर ? अनि कहिल्यै
सोच्यो त यो समाजले कि यो केटी कति बहादुर रहीछे; एक्लै बुढा र घरलाई सम्हालेकी छ ?
बन्न त बुवाको लागि, आमाको लागि, वा अन्य कुनै सम्बन्धको लागि राम्रा राम्रा कथा र कविता बन्छन् । त्यसमा म बिरोध गर्दिन तर यति भन्छु कि मेरी आमाले माया गरेकी आफ्नी छोरीलाई रहेछ; मेरा बुवाले पनि आफ्नी छोरीलाई माया गर्दा रहेछन र दाइले माया गर्ने आफ्नी बहिनीलाई रहेछ तर मलाई त माया गर्ने कोहि रहेनछ ।
अनि यो समाज। यो समाज त बस् अरुको खोट भेट्न पाए होच्याउन हुन्थ्यो र घाउलाई अझै कोट्याउन हुन्थ्यो भनेर गिद्धले सिनो कुरे जसरि कुरेर बसेको हुन्छ। ज्यानमा घाउ भएको मान्छेलाई त हजुहरुले दया देखाउनु हुन्छ , माया गर्नु हुन्छ तर यो मन मा घाउ भएको मैले कसरी देखाउनु ! त्यसैले मेरो आग्रह छ हजुरहरुलाई, कमसेकम माया नदेखाएपनी एउटा मानवको दृष्टिले हेरिदिनुहोला प्रेम विवाह (love marriage) गर्नेहरुलाई पनि ।