नबिर्सिएको चाहना

१ असार २०७७, सोमबार १८:४३ १ असार २०७७, सोमबार १८:४३ १ असार २०७७, सोमबार १८:४३ , ,
engagement

मैले सानी हुँदा एकदिन राती दिदीसँग निदाउने बेलामा उहाँको कपाल चलाउँदै भनेकी थिएँ, “दिदी, म ठुली भएर बाबा-आमाको लागि एउटा ठुलो घर बनाउँछु है ।” दिदीले पनि मेरो कल्पनामा भएको घरलाई भत्काउनु भएन; भन्नु भएन कि छोरीको जात घर बनाउन हैन घर सर्न बनेको हो । “हुन्छ नि ! बरु अबेर भयो, अब निदाउ त ।” भनेर त्यो घरको सपनालाई ‘पास’ गरिदिनु भएको थियो । 

त्यो घर, जसको कल्पना मैले २०औँ वर्ष पहिले गरेकी थिएँ, अहिले त्यसको नक्सा समेत कोर्न सकेकी छैन र सायद अब सक्दिन पनि । यो कारणले नसक्ने होइन कि म सँग क्षमता छैन । म छोरी भएर जन्मिएकी भएपनि मलाई बुवा-आमाले छोराभन्दा कम सम्झनु  भएन । आफ्नो छाक घटाएर होस् वा आफ्नो इच्छालाई इच्छामा नै सिमित गरेर होस्, मलाई यो काविल बनाउनु भएको छ कि एउटा घर त के , आफ्नो शिप परिचालन गरेर म एउटा सानोतिनो महल नै खडा गर्न सक्छु । तर म अव त्यो नावालक ‘म’ हुँदाको घर बनाउने सपनालाई मनरुपी दराजमा थन्काउन गइरहेकी छु आज । 

आज!

आज मेरो ‘टिकाटालो’ वा अंग्रेजीमा भन्नपर्दा engagement को दिन । हिजो जस्तै लाग्छ त्यो दिन जब मलाई हेर्न केटापक्षबाट आएका थिए । मेरो शिल, स्वभाव, बोली-चाली र यहासम्म कि मेरो हिडाइ र जिउडालको लेखाजोखा गरेर पछि ‘खबर गरौँला’ भनेर विदावारी भएका थिए उनिहरु । घर गएर उनीहरुले कुन तराजुमा मेरो स्वभावलाई जाँचे, त्यो त थाहा भएन ।  तर मेरो ‘गुण’तिरको भागको वजन उहाँहरुको ‘अपेक्षा’ तिरको भाग भन्दा हलुङ्गो निक्लियो क्यार; केहि उहाँहरुलाई उपहारको रुपमा ‘दाइजो’ र उहाँका आफन्तजनलाई लुगा-फाटोको व्यवस्था मिलाउने सर्तमा हाम्रो तराजुलाई समानान्तर बनाइयो र ‘टिकाटालो’को दिन तय गर्न पण्डितलाई हेराइयो । 

भुत, भविस्य र वर्तमान देख्छन् अरे चिना हेराउदा । तर इ पण्डित जाली परेछन् क्याहो, मेरो त्यस्तो ठुलो चाहना उनले देख्न सकेनन् । देख्दा हुन् त भन्दा हुन् ‘इ नानी आफै केहि बन्न चाहन्छिन । आफ्नो खुट्टामा उभिन सक्ने काविल बनाएर छाड्नु इनलाई । विवाहरुपी पिजडामा अहिल्यै बन्द नगरिदिनु होला ।‘ तर उनले भनेछन्, “नानी निकै लच्छिनकी छन् । घरको शोभा बढाउछिन् ।” र आजको मितिलाई उत्तम छ भनिवरी दक्षिणा लिएर बिदा भएछन् । 



मिति तोकेपछि छुट्टै माहोल थियो घरमा । तर त्यो रौनकले मलाई किन-किन कोलाहलको आभास दिने गर्दथ्यो । विवाहको नाउमा मनमा बज्नपर्ने सहनाइको सट्टा मनमा मातम शंख बजिरह्यो । सायद मेरो सपनाको मृत्युमा मलामी गइरहेका थिए मेरा चाहनाका भिडहरु, मौन र निराश हुदै ।


आज!!


आज चन्दन अक्षताले मैले कलशलाई पुजिरहदा मेरा पुज्य गुरुहरुको याद आउदो हो । कति ज्ञान पाएकी थिएँ उहाँहरुबाट; तर आमाको ‘घरमा माइतिको इज्जत जोगाउनु नि!’ वाला ज्ञानमात्र काम लाग्न सक्छ सायद अव ।

आज उनले र मैले टिका साटासाट गर्दा याद आउदो हो, बाबाले आफ्नो सबै आवश्यकता बन्धकि राखेर जम्मा गर्नुभएको ‘पैसा’सँग ‘ज्ञान’ साटासाट गर्नुभएको, कलेजमा । तर कलेजको शिपको सट्टा मलाई चुला चौकाको ज्ञानमा नै सिमित हुनपर्ला अब ।



आज उनले माला पहिराइदिदा मलाई याद आउदो हो आमाले ‘रक्षा गर्छ है’ भनेर मनकामनाको धजा पहिराइदिनुभएको । आमालाई पनि महसुस भएनछ क्यार, मेरो सबैभन्दा धेरै रक्षा गर्ने देवी उहाँ स्वयम हुनुहुन्छ भनेर ।

मैले सबैले चाहेजस्तो ‘घर खान‘ सक्छु वा सक्दिन, त्यो त म भन्न सक्दिन । तर यो छोरीले बुहरिकै रुपमा किन नहोस, एक दिन घर बनाएरै छाड्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *