“अहो! यो होस्टेलमा त आरामले रुन पनि नदिने भए” सोच्दै आशु पुछेर ढोका खोलेँ।सुस्मिता, सरिता, आनुपा, सीता र गोमा ढोकाबाट पसिहाले ।
“ओहो, सब कुरा मिलेको छ त! खोइ तेरो किताब ? होइन पढन्दास बाट हल्ल्नदास हुन लागिस कि के हो !” गोमा ले जिस्काउदै के थिई अनुपाले थपिहाली, “होइन के, अब यसले पढाइबाट सन्यास लिएकी रे ! कोर्सको किताब नपढ्ने रे के, यो वातावरणको ‘स्टडी’ गर्ने रे । अहिले सायद तारा गन्दै थिई ।”
सीता झन् जिस्काउने शैलीमा भन्न थाली, “ओइ, के हेरेर बसिछेस् , आफ्नै ‘रुम’मा आएर यिनीहरुले यस्तो भन्दा पनि । पिट्दे न पिट्दे ।”
सरिताले झन् थपी, “कहाँ बस्नु, हामी बरु बसिसकेउ, यो त टोलाउदै उभिछे ।आइ’ज केटी बस् , आफ्नै ‘रुम’सोचे हुन्छ ।”
अनि के चाहिन्थ्यो, सब हासेर मुर्छा पर्न लागे । कोठामा अट्टाहास गुन्जियो ।म पनि हास्दै तिनीहरुतिर आफ्नो नजिक भएको तकिया फालें ।
तर सुस्मिता कोठामा पसेदेखि मौन थिई । सबलाई चुप लाग्ने संकेत दिदै मतिर फर्किई र भनि, “तँलाई यो कत्ति सुहाएन साथी।” म मेरो लगाएको लुगा नियाल्न लागें । फेरी भनि “ तेरो ‘ड्रेसअप’ भनेको होइन पागल, तेरो ‘एक्सप्रेसन’ भनेको हो।आँखामा आँसु अनि मुहारमा हाँसो पनि कहिँ सुहाउछ त ?”
“हि! यो पनि के-के भन्छे । त्यस्तो केहि होइन ।” मैले कुरा टार्न लागें ।
“त्यस्तो हैन भने हामी आउन आघि तँ के गरिरहेकीथिईस् त? अब यसको लागि पनि कहानी नबना, हामी खास तेरो रुवाईको हिक्क-हिक्क सुनेर आएको ।”
सबैले सहमतिमा टाउको हल्लाए ।
मेरो अगाडि उनीहरुलाई चित्त बुझाउने केहि उपाय भएन । मौन रहेँ ।
“यसरी चुप लागेर समाधान आउन्न के हेर् । हामी केहि गर्न पो सक्छौ कि, भनेर त हेर् । केहि गर्न नसके पनि तेरो मनको बोझ हल्का हुन्छ।” सीता भन्न थाली ।
“मेरो समस्याको समाधान त म मरेपछि मात्र हुन्छ । मलाई मार्दे, ‘प्रोब्लम’ ‘सल्भ’ हुन्छ ।” मेरो जवाफ रह्यो ।
“कति सजिलै बोल्छेस् है तँ, यदी मृत्यु नै सबै समस्याको समाधान हुने भए यो संसारमा घरभन्दा बढी चिहान बन्ने थिए ।” अनुपाको जवाफमा सबैको सहमति रह्यो ।“अनि अचानक मर्नै पर्ने के कुरा आयो त्यस्तो हँ? सुनम न।चित्त बुझे धेरै जना पनि छौँ, सजिलै मार्दिम्ला ।”
एकछिन सबै हाँसे र चुप भएपछि ‘ भन् न !’ को संकेत गर्न थाले । अनि म मेरो अतितका पाना पल्टाउन लागें ।
______________________________________________________________________________
“सबैलाई थाहा भएकै कुरा हो, म दलित परिवारमा जन्मेकी केटी मान्छे । दुइओटा नराम्रो पक्ष त मैले जन्मबाट नै लिएर आएकी थिएँ , बुझ्नु भयो होला कुन दुइओटा । एउटा त म दलित भएर जन्मिएँ र अर्को केटी भएर ।”
“अरु जन्मदा हर्षउल्लास हुन्छ घरमा, सबैले बधाई दिन आउछन अनि आमा, बुवा, हजुरबुवा, हजुरआमा सब खुशि हुदै अरुको आँखा लाग्छ कि भनेर जोगाउँछन् तर मेरो भाग्यमा त्यस्तो लेखिएको थिएन । अरु भेट्न आउन त परै जाओस, मेरो आफ्नै परिवारलाई नर्क बनाइदियो मेरो जन्मले। हजुरआमा आमालाई एकदमै हेलाहा गर्नुहुन्थ्यो रे र बाबा पनि खासै बोल्नु हुदैन थियो अरे आमासँग ।
आमा मेरो आडमा आएर सारीको सप्कोले आँशु पुछ्दा म केहि गर्न सकिन । त्यो बेलामा त म नाबालक थिएँ, त्यसैले पनि विवस थिएँ। चुप चाप हेरेर बस्थेँ सबै कुरा । तर बोल्न सक्ने भए पनि त म के नै गर्न सक्ने थिएँ र ? त्यो आँसुको कारण पनि त म नै थिएँ ।”
“जब म बढ्दै गएँ, घरमा भाइ जन्मियो । घरमा खुशी आयो तर मलाई लाग्छ मेरो भागको माया पनि भाइले पायो सायद । तर त्यसले मलाई खासै फरक परेन किनकि सायद उहाँहरु भन्दा बढी माया गर्छु मैले मेरो भाइ प्रशान्तलाई ।”
“सबैको म प्रतिको रिस भाइको जन्मपछि मरेछ सायद, मलाई शिक्षाबाट भने बन्चित गराउनु भएन । घरनजिक एउटा सरकारी विद्धालय थियो त्यसमा मलाई र अलि पर बोर्डिंग विद्धालय थियो त्यसमा भाइलाई भर्ना गरियो ।”
“म एकदम खुशी भएँ किनभने मलाई स्कुल आउन जान सजिलो थियो । चाडै घर आएर खेल्न पाउँथे तर भाइको पढाई पनि अबेला सम्म हुन्थ्यो र घर आउन पनि अबेला लाग्दथ्यो । स्कुलमा अरु त सब ठिक थियो तर जब साथीहरुले खाने बेलामा एक्लो पार्दथे र अलक्क खाजा खान्थे, मेरो आँखा भरिन्थ्यो र टिलपिल्ल आँसु आउँथ्यो । तर म रुदिनथिए किनभने त्यो सबको कारण मैले आमामार्फत बुझेकी थिएँ । छुवाछुतप्रथाको बिगबिगी स्कुलमा समेत थियो ।”
“एस. एल. सीमा मैले प्रथम श्रेणी ल्याउदा आमाको हाँसो र त्यससँग छचल्केको आँसु देखेर किन रुनुभएको भनेर आमालाई सोधेकी थिएँ । आमाले खुशीको आँसु भनेर सम्झाउदा सम्झाउदै पनि आमासँगै बसेर रोएकी थिएँ । अझ आमाले त्यो दिन हजुरआमासँग लुकाएरन लड्डु किनेर खाउ है भनेर पैसा दिनुभएको थियो ।”
“कलेज भर्ना गर्नुभन्दा पहिलेदेखि नै मेरो बिहेको कुरा आएको थियो । मेरो सबैजसो साथीहरुको कोहिको घरबाट मिलाएर त कोहि भागेर बिहे भइसकेको थियो । तर मेरो बिहेको कुरामा आमाले बिरोध गर्नुभयो र मलाई यहाँ पठाउनु भएको पढ्नको लागि । म यहाँ आएर जति सक्दो मेहेनत गरेर पढेकै छु तर गाउँमा म एघारमा पढ्दा छोरी सहरमा गएर केटासँग लागेकी छे भनेर हल्ला गरेका थिए अरे। बाबा त्यही भएर त्यति टाढाबाट आउनुभएको मलाई गाउ फर्काउन तर मैले सम्झाउन सफल भएँ र बाबा फर्कनुभयो ।”
“अझै पनि त्यो हल्ला साम्य भएको छैन रे । छोरीलाई पढाएर बुवा आमाले ठुलो मूल्य चुकाउन परेको छ; ‘फिस’ तिरेर भन्दा पनि त्यस्तो आरोप सहेर । तर किन किन अब त आमाले फोन गर्दा पनि हालचाल सोध्न होइन, कतै भागी कि भनेर ‘चेक’ गर्न हो कि जस्तो लाग्न थालिसक्यो। के-के सपना थियो म पढाई सकेर जागिर गरौँला र आमा बुवालाई पलौला भनेर तर सबै चकनाचुर हुने भयो। अब सायद बिहेको नै हतार हुन्छ मेरो पढाई सकिएपछी ।”
“तर आज आमासँग फोनमा कुरा गर्दा निकै अतालिनुभयो । सुरुमा त केहि भन्नुभएन पछि थाहा भयो कि गाउमा उहाहरु कस्तो अवस्थाबाट गुज्रिरहनुभएको रहेछ भनेर । मेरो समस्या त्यसको अगाडि गौण हुन पुग्यो।”
“हामी दलित भनेर हेलाहा त जिजुबाजेको पालादेखि नै चलिआएको थियो । हामीले बनाएको मन्दिरमा पस्न हामीलाई नै रोक थियो । हामीले बनाएको ‘सुन’को पानी छर्किएर हामीबाट नै शुद्ध हुन्थे तथाकथित ठुला जात भनिएका मानिसहरु । पानी-पधेरामा जान पनि नपाएर टाढाको खोलाको पानी ओसार्न बाध्य हुन पर्दथ्यो।कुनै कार्यक्रममा हामीलाई जान रोक हुनु र गएपनि ठुला-ठुला कुर्सीमा बसेर छुवाछुतविरुद्ध भाषण गर्ने नेताहरु खाजा खादा छुट्टै बसेर खाने गरेको अहिले पनि देखिआएको नै हो ।”
“अझ यतिसम्म पनि सहियो कि हामीलाई देख्दा कोहि आफ्नो साइत बिग्रियो भनेर नानाथरी गाली गर्थे त कोहि थुकेर समेत जान्थे । आफ्नै हिड्ने बाटोमा थुकेर तिनीहरुको साइत बन्यो वा बनेन, त्यो त म भन्न सक्दिन तर एउटा मानव भएर अर्को मानवको भावनामा यसरी प्रहर गर्दा र यति तल ओर्लेर तुच्छ किसिमको व्यवहार गर्दा समेत हाम्रो मनले भने तिनीहरुको कुभलो कहिल्यै चिताएन ।”
“अतितको पिडा त छदै थियो । त्यो भेदभाब बिस्तारै बिलाउदै पनि गइरहेको थियो तर त्यो पिडा फेरी बल्झिएको छ रे अहिले । हाम्रो गाउँमा भएका हाम्रा जातिका मानिसहरु कोहि विदेश होमिए त कोहि सहर पसे । अहिले हाम्रो घर एक्लो भएको छ रे र हामीलाई फेरी शोषण हुन थालेको छ अरे । आफ्नो धैर्यताको बाँध टुटेर सहरमा डेरा खोज्न जानुभएको बाबा निराश भएर फर्कनु परेछ । तल्लो जातको नाममा डेरा दिन मान्दैनन अरे सहरमा । उता माहिला दाइले आफ्नो थर ढाटेर डेरा बसेका छन् रे ।अर्को चोटी त्यही गर्नु पर्ला भन्दै हुनुहुन्थ्यो बाबाले।”
“खै, देशमा प्रजातन्त्र आयो भन्छन् , नया संबिधान बन्यो भन्छन् , कडा कानुन छ छुवाछुत बिरुद्ध भन्छन् , तर एक्लो परेपछि केहि लाग्दैन रहेछ ।”
______________________________________________________________________________________
“ओइ, कता टोलाएकी हँ? भन् न के भएर मर्छु भनेकी ?” गोमा कराउन लागि ।
म त सोच्दा सोच्दै धेरै टोलाएछु क्यार । उसको कुराले झस्किएँ र यताउता नजर डुलाउन पुगेँ कसो- कसो नजर मेरो किताबको गातामा पर्यो जुन सिरानी फाल्दा भुइमा झरेको रहेछ ।त्यसमा आफ्नो थर ‘परियार’ को सट्टा ‘शर्मा’ देखेँ र लाग्यो यो सब भनेर केहि फाइदा छैन अब र भनेँ –
“केहि होइन साथी, घरको एकदम याद आइरहेको छ के, त्यसैले दुःखि भएकी ।घरबाट फोन पनि आएको छैन, त्यसैले रिसको झोँकमा केके भनेछु ; ‘सरि’ ल!!!